images
images

कपिलवस्तुबाट रोल्पा जाने तयारीमा रहेका महरालाई प्रहरीले पुर्यायो काठमाडौं

  • ५ चैत्र २०८०, सोमबार ११:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीले उनलाई कपिलवस्तुबाट आज बिहान पक्राउ गरेको नेपाल प्रहरीका सुचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । महरा रुपन्देही हुँदै रोल्पा जाने तयारीमा थिए । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरा लगायत सबैमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीलाई निर्देशन दिएका थिए ।

सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो । आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको छ । सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएर छाडेको थियो ।

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानले देखाएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई अहिले भैरहवाबाट काठमाडौँ लगिएको छ । महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ लगिएको प्रहरी स्रोतले जनाएको छ ।