images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

  • ६ बैशाख २०८१, बिहीबार १७:४३

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नागरिक उन्मुक्ती पार्टीको समर्थनमा दावी पेश गरेका सोडारी मुख्यमन्त्री बनेका हुन् । एमालेले समर्थन गरेलगत्तै दावी पेश गरेका सोडारीलाई प्रदेशप्रमुख नाजिर मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आज दिउँसो मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएपछि सोडारीले प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावि पेश गरेका थिए ।

सोडारीले यसअघि नै सत्तारुढ दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपनि एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए । गत मंगलबार पेश गरिएका दुवै दावि अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाले मुख्यमन्त्रीमा दावि पेश गर्न आज ५ बजेसम्मको समय दिएका थिए ।