images
images

रामेछाप र सिन्धुलीमा भिषण आगलागी, जंगलबाट बस्तीमा पसेको आगो अनियन्त्रित

रामेछाप । सिन्धुलीको सुनकोशी गाउँपालिकामा वनमा लागेको आगो सल्किएर बस्तीमा पस्दा ५ घर जलेर नष्ट भएको छ ।

सुनकोशी गाउँपालिका–४ स्थित फलाटघारी वनमा लागेको आगो घरमा सल्किएर ५ घर जलेर नष्ट भएको हो । आगलागिमा परि स्थानीय भक्त बहादुर श्रेष्ठको ४ वटा घर र कृष्ण बहादुर श्रेष्ठको १ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यद्धपी क्षतिको विवरण आउन बाँकी रहेको छ । स्थानिय र रातमाटे प्रहरी चौकीबाट खटिएका प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास भए पनि आगो अझै नियन्त्रणमा नआएको सुनकोसी गाउँपालिका वडा –४ का अध्यक्ष यम बहादुर जर्घा मगरले बताउनुभयो ।

यसैबीच, रामेछापमा पनि जंगलमा लागेको आगो बस्तीमा पस्दा ६ घर जलेर नष्ट भइसकेको छ । रामेछापको रामेछाप नगरपालिका–३ साँघुटारमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् भने ६ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जङ्गलमा लागेको आगो गाउँमा पुगेपछि दिर्घमान श्रेष्ठ, खड्ग बहादुर कुमाल लगायतको घर जलेर नष्ट भएको रामेछाप प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते भएका छन् । घरमा भएको सवै अन्नपात, लत्ताकपडा, नगद सवै जलेर नष्ट भएपनि क्षतिको एकिन विवरण प्राप्त भएको छैन ।

घटनास्थलमा प्रहरी खटिएको र क्षतिको विवरण आउन बाँकी रहेको रामेछाप नगरपालिका–३ का वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो ।