images
images

दोलखाको फिल्म सिटी सरकारको प्राथमिकता, लगानी सम्मेलनमा शोकेस गरिने

दोलखा । आगामी साता हुने लगानी सम्मेलनमा दोलखामा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरको फिल्म सिटी परियोजना पनि प्रस्तुत हुने भएको छ ।

लगानी बोर्डले सम्मेलनमा दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माणाधीन फिल्म सिटी परियोजना शोकेस गर्ने भएको हो । सम्मेलनमा नेपालमा लगानीका लागि सम्भावित फिल्म सिटी सहित १६ वटा परियोजनाहरु प्रस्तुत गरिने बोर्डले जनाएको छ । १६ परियोजनामध्ये सरकारले फिल्म सिटीलाई पनि प्रमुख प्राथमिकतामा राखि शोकेस गर्न लागेको हो । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको तर्फबाट सो परियोजना शोकेस हुँदैछ । नेपाल सरकारले एक दशक अघि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा पर्ने डाङडुङे डाँडामा फिल्मसिटी बनाउने घोषणा गरी सुरुवात गरेको थियो ।

सरकारले २०६९ सालमा फिल्मसिटी बनाउने निर्णय गरेपछि दोलखाको लाकुरीडाँडामा नेपालकै पहिलो सुविधा सम्पन्न फिल्म सिटि निर्माणको काम सुरु भएको थियो । डाङडुंगेडाँडामा निर्माण हुन लागेको फिल्म सिटीको २०७१ सालमा शिलान्यास गरिएकोे थियो । फिल्म सिटी निर्माणका लागि करिब १७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फिल्म सिटी परियोजनालाई लगानी सम्मेलनमा शोकेस गरिनु खुसिको कुरा भएको फिल्म सिटि निर्माण व्यवस्थापन समितिका संयोजक एबम् बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो ।

संयोजक श्रेष्ठले हालसम्म निर्माणाधीन फिल्म सिटीको भौतिक पुर्वाधारतर्फ करिब ३० प्रतिशत काम सम्पन्न भैसकेको बताउनुभयो । सो स्थानसम्म सडक कालोपत्रे, प्रवेशद्धार निर्माण, बिजुली र खानेपानी लगायतका काम सम्पन्न भैसकेको छ । साथै प्रशासनिक भवन, सांस्कृतिक संग्रहालय भवन र गेस्ट हाउस गरी तीनवटा भवन निर्माणको काम सम्पन्न भैसकेको छ ।