images
images

रेडक्रस सोसाईटी दोलखा शाखामा एक महिनामा १ सय ६७ पिन्ट रगत संकलन

दोलखा । नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले एक महिनाको अवधिमा १ सय ६७ पिन्ट रगत संकलन गरेको छ ।

दोलखा शाखाले जिल्ला स्थित विभिन्न संघसंस्थाहरुको समन्वय तथा सहयोगमा फागुन महिनामा १ सय ६७ पिन्ट रगत संकलन गरेको हो । संकलन भएकोमध्ये १ सय ३५ पिन्ट भक्तपुर रक्तसञ्चार केन्द्रमा पठाईएको छ भने ३२ पिन्ट मौज्दात रहेको रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति ईश्वरी दहालले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन ७ गते लक्ष्मी मावि घ्याङको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० पिन्ट, फागुन ११ गते जिरी प्राबिधिक शिक्षालयमा ५५ पिन्ट रगत संकलन गरिएको थियो ।

यस्तै, फागुन २२ गते रेडक्रस सोसाईटी उपशाखा मेलुङले वडा नम्बर ७ मा ३८ पिन्ट संकलन गरेको थियो भने फागुन २५ गते माथिल्लो तामाकोशी जलबिद्युत आयोजना कर्मचारी टेड युनियनको तर्फबाट ३४ पिन्ट र फागुन २७ गते कालिनाग मावि सुनखानीमा २० पिन्ट रगत संकलन भएको थियो । दोलखामा सदरमुकाम चरिकोट र जिरी नगरपालिका स्थित जिरी अस्पतालमा गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र रहेका छन् ।

यद्यपि रक्तसञ्चार केन्द्र जिरीमा भने हाल रगत मौज्दात नरहेको जिरी अस्पतालका प्रमुख डा रञ्जित झाले जानकारी दिनुभयो । डा झाले जिरी अस्पतालमा रगत कम खपत हुने भएकाले रक्तसञ्चार केन्द्रमा संकलित रगत रेडक्रस जिल्ला शाखामा पठाउने गरिएको बताउनुभयो । रेडक्रस दोलखा शाखामा गत वर्ष २०७९÷०८० मा विभिन्न संघसंस्थाहरुको सहयोगमा ८ सय पिन्ट रगत संकलन भएको थियो ।

गत वर्ष दोलखाका ९ स्थानीय तहका नागरिकलाई आवश्यकताका आधारमा २ सय ८५ पिन्ट रगत सहयोग गरिएको रेडक्रस सोसाईटी दोलखा शाखाका मन्त्री भरतनारायण प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार २०८० सालको माघ मसान्तसम्म ४ सय ९५ पिन्ट रगत संकलन भएकोमा जिल्लाका शैलुङ र जिरी बाहेक अन्य सात स्थानीय तहमा १२० पिन्ट रगत सहयोग गरिएको छ ।