images
images

जिरी स्टोन पार्कको उदघाटन तथा गुरु रिन्पोचेको प्राण प्रतिष्ठान (फोटोफिचर सहित)

जिरी(दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य स्टोन पार्कको उद्घाटन भएको छ ।

जिरी नगरपालिका वडा नम्बर १ मा अवस्थित पर्यटकीय तिर्थस्थल स्टोन पार्कको उद्घाटन र पार्कमा निर्मित गुरु रिन्पोचेको प्राण प्रतिष्ठान गर्ने काम सम्पन्न भएको हो । गुरु रिन्पोचेको रम्ने तथा प्राण प्रतिष्ठा धर्मगुरु खेन रिम्पोक्षे साङ्गे रम्ज्युङ्गको बाहुलीबाट भएको हो । जिरी–१ पुम्पास्थित खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुंगा रहेकोमा ती ढुंगालाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरेर पार्क निर्माण गरिएको छ । त्यहाँ गुरु रिम्पोक्षेको मूर्ति, शिवको मूर्ति स्थापना गरिएको छ भने १ सय ८ वटा मानेहरु स्थापित गरिएको छ ।

जिरी–१ का वडाध्यक्ष आङपासाङ शेर्पाका अनुसार पार्कमा धुप बाल्ने ठाउँ, रोटेपिङ, फनपार्क, ३ सय सिट क्षमताको हल, स्विमिङ पुल, पिकनिक स्पोर्ट, शौचालय, खानेपानीको व्यवस्था, पर्यटक बस्ने प्रतिक्षालय, क्यान्टिन लगायतका पुर्वाधार निर्माण गरिएको छ । स्टोन पार्कको व्यवस्थापन तथा संरचनाहरु थप गर्नको लागि बागमती प्रदेश सरकार र जिरी नगरपालिकाको लगानीका साथै श्यामा शेर्पा किदुक काठमाडौं र तेनिमा दाडोमा लामा स्मृति प्रतिष्ठानको आर्थिक सहयोग रहेको छ । आज तेनिमा दाडोमा लामा स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा निर्माण भएको हल लगायतका संरचनाको समेत उद्घाटन गरिएको हो । निवर्तमान सांसद जिपछिरिङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अथितिको रुपमा जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, पूर्व सांसद आङदेन्डी लामा, प्रथम नगरप्रमुख टंक बहादुर जिरेल तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पुम्पा पुगेका थिए । करिब ८ सय मानिसको सहभागीतामा भव्यताको साथ कार्यक्रम सम्पन्न भएको जिरी नगर कार्यपालिका सदस्य साङ्गे शेर्पाले बताउनुभयो ।

स्टोन पार्क भ्रमणका लागि दोलखा, रामेछाप, सोलुखुम्बु लगायत छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक तथा दर्शनार्थीहरु पुग्ने गरेका छन् । स्टोनपार्क हुँदै जट्टापोखरी र पाँचपोखरी पैदल जान सकिन्छ । समुद्र सतहबाट करिब १ हजार ८७६ मिटर उचाइमा रहेको स्टोनपार्क दोलखा र रामेछापको सिमानामा छ । स्टोन पार्क पुग्न दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली, यलुङ हुँदै जान सकिन्छ । यस्तै, जिरी बजारवाट कुने, सिउरानी, ठोसे, शिवालय हुँदै पनि स्टोन पार्क पुग्न सकिन्छ ।