images
images

पार्टीलाई शैलेन्द्रमानको ‘सरप्राइजः विहान ११ बजेदेखि हराए, बेलुकी मन्त्री बनेर आए

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा) ले सत्ता गठबन्धनले आफ्ना सांसद शैलेन्द्रमान बज्राचार्यको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ ।

६ दिनअघि मात्र समर्थन फिर्ता लिएको हानेपाका बज्राचार्य एकाएक बागमती सरकारमा सामेल भएपछि पार्टीले उनलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाएको हो । आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्त राज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाएका छन् । पार्टीभित्र छलफल हुँदै गर्दा शैलेन्द्रमानले सरकारमा सहभागीता जनाउनु गलत भएको उनीहरुको भनाई छ । पार्टी अध्यक्ष घिमिरेका अनुसार विहान ११ बजेदेखि शैलेन्द्रमान सम्पर्कमा नरहेकोमा साँझ सिँधै मन्त्रीको खबर प्राप्त भएको हो । राजनीतिक अपहरण गरेर मन्त्री बनाउँदैमा सरकारलाई विश्वासको मत दिन नसकिने उनको भनाई छ ।

यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सरकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् । बज्राचार्यले राजनीतिक बेइमानी गरेको उनको आरोप छ ।

बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ । २०७९ सालको मंसिर ४ गतेको आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८ (१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।