images
images

शुक्रबार दोलखाको विभिन्न स्थानमा तीन घटनाः ३ युवकको काठमाडौंमा उपचार हुँदै

जिरी (दोलखा) । दोलखाको विभिन्न स्थानमा भएको घटनामा परि ३ जना घाइते भएका छन् ।

हिजो एकै दिन जिल्लाको तीन पालिकाको विभिन्न स्थानमा भएको घटना तथा दुर्घटनामा परि ३ जना घाइते भएका हुन् । जसअनुसार जिरी नगरपालिका–४ स्थित निगालेमा जेसिबी दुर्घटना हुँदा चालक घाइते भएका छन् । हिजो बेलुकी करिब साँढे ५ बजे बा ३ क ११ नम्बरको जेसिबी ट्रयाक खन्ने क्रममा १२ फिट तल बारीमा खसेर दुर्घटना हुँदा चालक रामेछापको गोकुलगंगा गाउँपालिका–४ का ३० वर्षीय इन्द्र गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक सरण महर्जनले जानकारी दिनुभयो । रातीनै काठमाडौं रिफर गरिएको उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, हिजो विहान करिब साँढे ११ बजे माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर एक जना प्राविधिक घाइते भएका छन् । बिगु गाउँपालिका वडा नम्बर ४ लादुक घर भई माथिल्लो तामाकोशी आयोजनामा प्राविधिकको काम गर्दै आएका २६ वर्षीय राजेन्द्र गिरी करेन्ट लागेर घाइते भएका हुन् । हाइ टेन्सन लाइनको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै तत्काल हेटिकप्टरमार्फत उद्धार गरिएको उनको काठमाडौंस्थित मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

यसैबीच, कालिञ्चोक गाउँपालिकामा पनि विजुलीको पोलबाट लडेर एक पुरुष घाइते भएका छन् । हिजो दिउँसो कालिञ्चोक गाउँपालिका–२ बाबरेका ४० वर्षीय भुपेन्द्र पाण्डे बिजुलीको पोलबाट लडेर घाइते भएका हुन् । वडा नम्बर १ स्थित विगुम्पामा विजुलीको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर पोलबाट लड्दा उनी घाइते भएको स्थानीयले बताएका छन् । मध्यम अवस्थाका घाइते उनलाई पनि सिंगटीस्थित सामुदायिक रोल्वालिङ अस्पतालमा सामान्य उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ ।