images
images

बागमती सरकारमा एमालेको इन्ट्री, थपलिया बने आर्थिक मामिलामन्त्री

  • १७ चैत्र २०८०, शनिबार १९:३३

हेटौँडा । बागमती प्रदेश सरकारमा नेकपा एमाले जगन्नाथ थपलियाको नेतृत्वमा सहभागी भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोक्नुभएसँगै एमाले थपलियाको नेतृत्वमा प्रदेशमा सहभागी भएको हो । नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी हुनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

यसअघि २०७९ साल पुस २६ मा मुख्यमन्त्री जम्कट्टेललेनै थपलियालाई अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । गठबन्धनमा फेरबदल आएसँगै थपलियाले कार्यभार सम्हालेको साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणमा फेरबदल आएपछि दोस्रो पटक सरकार विस्तार गर्नुभएको हो। यसअघि चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलले अब भने चैत १९ गते विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।