images
images

४५ ग्राम खैरो हेरोइन सहित मेलुङका युवक पक्राउ

  • १८ चैत्र २०८०, आईतवार १०:४९

सिन्धुली । सिन्धुलीबाट ४५ ग्राम खैरो हेरोइन सहित दोलखाको मेलुङ गाउँपालिकाका युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुका २५ वर्षीय रुपेश थोकर रहेका छन् । उनी सहित तीन जना सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट पक्राउ परेका हुन् । सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०१०२८ च ३६१२ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र खैरो हेरोइन जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ ४५ ग्राम फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।

थोकरसँगै कार चालक रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ का २० वर्षीय सुबोध श्रेष्ठ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–९ का २८ वर्षीय सुरेश भन्ने भिम बहादुर तामाङ पनि पक्राउ परेका छन् । हिजो बेलुकी करिब ९ः१५ बजे पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।