images
images

बाँदरको आतंकले पुगेको क्षति अध्ययन गर्न दोलखाका सांसद रिजालको माग

  • १८ माघ २०७९, बुधबार १३:५४

काठमाडौँ । नेकपा एमाले दोलखाका सांसद ईश्वरबहादुर रिजालले दोलखामा बाँदरले उठिवास लगाएको भन्दै क्षतिको अध्ययन गर्न र राहतको व्यवस्था गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद रिजालले दोलखाका विभिन्न क्षेत्रमा बाँदरको आतंक बढ्दा उठिवास भएकाले यसतर्फ अध्ययन गर्न र क्षतिपुर्तिको व्यवस्था गर्न माग गर्नुभएको हो । दोलखामा बाँदरको साम्राज्य बढ्दा खेती कमाई गरिखाने किसानको उठिवास लागेको उल्लेख गर्दै उहाँले यसबारे सरकारले एउटा अध्ययन टोली बनाउनुपर्ने र क्षतिको मुल्यांकन गरेर राहतको व्यवस्था गर्न माग गर्नुभयो । संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गर्न पनि सांसद रिजालले माग गर्नुभएको छ ।

यस्तै प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसदहरुले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रमेप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियत नहोस् भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएकोे हो । यस्तै स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले देशका विभिन्न नागरिकहरुले आत्मदाह र आत्महत्या गरिरहेको बताउँदै उनीहरुले के कारण आत्मदाह र आत्महत्या गरिरहेका छन् ? त्यो विषयमा अध्ययन गर्न माग गर्नुभयो ।