images
images

दोलखामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

  • १५ मंसिर २०७९, बिहीबार ०७:३०

जिरी (दोलखा) । दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन सुरु भएको छ ।

जिल्लाको दुई स्थानीय तहको १० मतदान केन्द्रमा निर्वाचन सुरु भएको हो । यसअघि मंसिर ४ गतेको निर्वाचन रद्ध भएको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठको मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्र तथा तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन कार्यालय दोलखाका प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । मतदान विहान ७ बजेदेखिनै गर्ने भनिएपनि केही मतदान केन्द्रमा केही समय ढिला भएर भर्खरै सुरु भएको हो । तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख मा भर्खर निर्वाचन सुरु गर्ने तयारी भइरहेको छ ।

निर्वाचन आयोगले दोलखाका ७ वटा मतदान केन्द्रमा धाँदली भएको र एक मतदानस्थलको ३ वटा मतदान केन्द्र रहेको कालीढुंगा मावि केन्द्रबाट मतपत्रको अर्धकट्टी हराएको भन्दै पुनः मतदान गर्ने निष्कर्ष निकालेपछि ती केन्द्रहरुमा आज मतदान हुन लागेको हो ।