images
images

दोलखाका पत्रकार शेरवहादुर भुजेलको हृदयघातका कारण निधन, महासंघद्धारा दुःख व्यक्त

  • २३ फाल्गुन २०७९, मंगलवार १५:४३

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व कोषाध्यक्ष एवँ सामाजिक अभियान्ता शेरवहादुर भुजेलको हृदयघातका कारण निधन भएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित आफ्नै निवासमा गयराति पत्रकार भुजेलको निधन भएको हो । वेलुकी खाना खाएर सुतेका ३९ बर्षिय भुजेलको आज विहान करिव ३ बजे निधन भएको थियो । उच्च रक्तचापका बिरामी उनको हृदयघातका कारण निधन भएको अनुमान गरिएको छ । पत्रकार भुजेललाई दुई बर्षअघि मस्तिस्क पक्षघात भएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यलाभ गरिसकेका भुजेलको गयराति अचानक निधन भएको हो ।

स्वर्गीय भुजेलको पार्थिव शरिरलाई आजै अन्त्यष्टि गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भुजेल पछिल्लो समय दोलखावाट संचालन हुँदै आएको इदैनिक खवरका सम्पादक थिए । असल शासन अभियानवाट पत्रकारितामा जोडिएका भुजेलले कालिन्चोक सन्देश साप्ताहिक र कालिन्चोक एफएममा पनि लामो समय काम गरेका थिए । उनी मानवअधिकार एलाइन्स दोलखाको अध्यक्षको जिम्मेवारीमा रहनुका साथै मानवअधिकार र सहकारी अभियानमा पनि सक्रिय थिए ।
नेपाल पत्रकार महासंघले बिज्ञप्ति जारी गरी भुजेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु एवँ उर्जाशील युवा पत्रकार गुमाएको बताएको छ ।

महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भुजेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ । प्रेस सेन्टर नेपाल दोलखाले पनि सोक वक्तव्य जारी गरी भुजेलको निधनले दोलखाको पत्रकारिता क्षेत्रमा अतुलनीय क्षेति पुगेको उल्लेख गरेको छ । प्रेस सेन्टर दोलखाका सचिव सुरज बस्नेत (अविरल) द्धारा जारी सोक वक्तव्यमा परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।