images
images

बागमती प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउने तयारीमा कांग्रेस

हेटौंडा । बागमती प्रदेशमा माओवादी नेतृत्वको सरकार संकटमा परेको बेला नेपाली कांग्रेस आफ्नो नेतृत्वको सरकार बनाउने तयारीमा जुटेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएर नेपाली कांग्रेस प्रतिपक्षमा पुग्दा बागमती प्रदेशमा भने सरकार बनाउने तयारीमा जुटेको हो । अंकगणितले बागमतीमा माओवादी वा एमालेको नेतृत्वमा सरकार बनाउने अवस्था नरहेपछि कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउने तयारी थालेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताउनुभयो । यो अवस्थामा कांग्रेस संसदको ठुलो दलको हैसियतमा सरकार बनाउने गरी अघि बढेको चित्रकारको भनाई छ । आफ्नो नेतृत्वमा विभिन्न दललाई समेटेर सरकार बनाउने गरी छलफल अघि बढाएको कांग्रेस हिजो देखिनै छलफलमा जुटेको छ ।

विदेश भ्रमणबाट फर्किए लगत्तै कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले सरकारको समर्थन र नयाँ समीकरण सहित सरकारको नेतृत्व लिने गरी छलफललाई तीव्रता दिनुभएको छ । युरोप भ्रमण सकेर हिजो फर्किएलगत्तै लामाले काठमाडौँमा संसदीय दलका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । कांग्रेसका ६ जना मन्त्री हिजोदेखि बागमती प्रदेश सरकारबाट बाहिरिएका छन् । हालको सरकारबाट बाहिरीएर उनीहरु आफ्नै सरकार बनाउने कसरतमा जुटेका हुन् । सत्ता समीकरणमा फेरबदल भएसँगै हाल बागमती प्रदेश सरकारको भविष्यमाथि संकट पैदा भएको छ । बागमतीमा हाल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ ।

सरकार संकटमा परेपछि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य जम्कट्टेल सरकार टिकाउन जोडबल गरिरहनुभएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तालाई तीब्रता दिनुका साथै कांग्रेसका नेताहरुसँग पनि छलफल गरिरहनुभएको छ ।