images
images

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा दोलखाका दुई जना पक्राउ

  • २५ चैत्र २०८०, आईतवार १८:१५

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दोलखाका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाका ४२ वर्षीय राजकुमार दाहाल, ३० वर्षीय कृष्णप्रसाद दाहाल रहेका छन् । उनीहरुलाई आज काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यी आरोपीहरु काठमाडौँको नयाँ बानेश्वर र पेप्सीकोला बस्दै आएका थिए । बेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै प्रलोभनमा पारेका थिए । राजकुमारले कम्बोडिया पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेर उनी सम्पर्कविहिन भएका थिए । सम्पर्कविहिन भएका उनीहरुलाई आज बानेश्वरबाट पक्राउ गरिएको हो ।

यस्तै, कृष्णप्रसादले इनाइन्स कन्सलटेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ९५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई भने काठमाडौँंको कपनबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।