images
images

आज महाशिवरात्री पर्व, मुलुकभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

  • २५ फाल्गुन २०८०, शुक्रबार ०६:३५

काठमाडौं । आज महाशिवरात्री पर्व मुलुकभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ ।

आराध्यदेव भगवान शिवको पूजा आराधना गरी आज मुलुकभर महाशिवरात्री पर्व मनाउन लागिएको हो । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरु आज बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा भउर श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन् । शिवजी उत्पति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा शिव पुरायण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पुजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यो पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

यसैबीच, शिवरात्रिको अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा चल्ने सवारी—साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) जीवन कुमार श्रेष्ठले बताउनुभयो । जसअनुसार पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका स्थानबाट पशुपति क्षेत्रमा डाइर्भसन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ ।

पशुपति क्षेत्रमा आज बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको र यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्नेगरी व्यवस्थापन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले जानकारी दिनुभयो । सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा महाशिवरात्री मेलाका लागि ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।