images
images

जिरीमा नारी दिवसः महिलाहरुले भने ‘बलात्कारीलाई फाँसी दे’

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाका महिलाहरुले नारी दिवसको अवसरमा बलात्कारीलाई फाँसीको माग गरेका छन् ।

देशका विभिन्न स्थानमा बलात्कारको घटना बढिरहेको बेला अन्तराष्ट्रिय नारी दिवसमा जिरीका महिलाहरुले फाँसीको माग गरेका हुन् । उनीहरुले आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा दिवसको नारा नै ‘बलात्कारीलाई फाँसी दे’ बनाएका थिए । केही साता अघि जिरीमा एक विद्यालयका प्रधानाध्यापकले नै विद्यालयकी छात्रा बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । घटना अनुसन्धान तथा छानविनको चरणमा रहेको बेला जिरीका महिलाहरु एक भएर बलात्कारीलाई फाँसी दे को नारामा उत्रिएका हुन् । उनीहरुले नारीलाई ‘सम्मान गरौं, महिला पुरुष बराबर तथा बलात्कारीलाई फाँसी दे’ लगायतका नारा बनाएका थिए ।

जिरी नगरपालिकाले आज ११४ औं अन्तराष्ट्रिय नारी दिवशको अवसरमा जिरी माविमा आयोजना गरेको लोक गीत तथा नृत्यप्रतियोगितामा सहभागी हुन पुगेका महिलाको हुल नाराबाजी सहित कार्यक्रम स्थल पुगेका थिए । जिरी नगरपालिका सहित आज जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको छ । जिरीमा आजदेखि जिरी नगरपालिका अन्तर शैक्षिक संस्थास्तरीय महिला भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।