images
images

नेपालमा २२ जनाको कलेजो प्रत्यारोपण, अंगदान गर्ने अधिकांश महिला

  • २६ फाल्गुन २०८०, शनिबार ०८:५७

काठमाण्डौ । नेपालमा धमाधम कलेजो र मृगौला प्रत्यारोपण हुन थालेको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म २२ जनाको कलेजो प्रत्यारोपण गरिएको छ भने १२ सय २ जनाको मृगौला प्रत्यारोपण गरिएको छ । मृगौला फेल भएका र कलेजो बिग्रिएकाहरुलाई परिवारका सदस्य र आफन्तजनले अंगदान गरेपछि धमाधम प्रत्यारोपण भइरहेको हो । पछिल्लो पटक भक्तपुरका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई कलेजो दान गरेका छन् । कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मृगौला र कलेजो प्रत्यारोपणमा अधिकांश महिलाले अंगदान गरेका छन् ।

हालसम्म २२ जनाको कलेजो प्रत्यारोपण गरिँदा २० जना महिलाले कलेजो दान गरेका छन् । यस्तै, १ हजार २ सय २ जनाको मृगौला प्रत्यारोपण गरिएकोमा ९ सय ५६ जना पुरुष छन् भने २ सय ४६ जना महिला छन् । हालसम्म भएका मृगौला र कलेजो प्रत्यारोपणमा अधिकांश महिलाले अंगदान गरेका छन् । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सुरु गरेको थियो ।

यसअघि वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले आफ्नो ३ वर्षीय छोरा रिसवलाई कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी थिइन् भने दाङका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकै ३७ वर्षीया श्रीमती आशा सुनारले आधा कलेजो दान गरेर दोस्रो जीवन दिएकी थिइन् । यसैगरी बुटवलका ३१ वर्षीय श्रीमानलाई उनकी ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् ।