images
images

कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त, गण्डकीको सरकारविरुद्ध सर्वोच्चमा रिट

  • २७ चैत्र २०८०, मंगलवार १८:१५

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज एमाले प्रदेश संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । गठबन्धनमा रहेका एमाले माओवादी र नेकपा एकीकृत समाजवादीका कुल २३ सांसदले हस्ताक्षरसहित कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । कँडेलको पक्षमा नेकाप एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ भोलि गर्ने बताएको छ ।

सर्वाेच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्ध प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दर्ता गर्नुभएको छ । सो रिटमा सर्वाेच्चले भोलिका लागि पेसी तोकेको छ । सभामुखसहितको हस्ताक्षरमा अधिकारी हिजो मुख्यमन्त्री बन्नुभएको थियो । गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराउनुभएको थियो । तर, अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै आज सर्वाेच्च पुग्नुभएको हो ।

रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरिएको छ । रिटमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफैँले संविधान बमोजिम दिएको पत्रविपरीत कार्य गरेको जिकिर गर्नुभएको छ । संविधानअनुरुप गरिएको ध्यानाकर्षण समेत कुल्चिएर प्रदेश प्रमुखले असंवैधानिक काम गरेको उहाँले दाबी गर्नुभएको छ । पाण्डेले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन पनि माग गर्नुभएको छ ।