images
images

जिरी विकासको रणनीतिक योजना तयार गरिँदै, पूर्व जनप्रतिनिधि र राजनीतिक दलले दिए सुझाव

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरीको उद्धेश्य बमोजिम जिरीको रणनीतिक विकास योजना तयार पार्न छलफल सुरु गरेको छ ।

स्थानीय सरकारले आगामी आर्थिक वर्षको योजना तर्जुमाको काम गरिरहेका बेला जिरी नगरपालिकाले विकासको रणनीतिक योजना तयार पार्न पूर्व जनप्रतिनिधि, राजनीतिक दल, वुद्धिजिवी तथा सरोकारवाला निकायहरुसँग छलफल सुरु गरेको हो । नगरपालिकाले मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुको सुझाव लिएको छ ।

अन्तरक्रियामा पूर्व सांसद एवम् वुद्धिजीवी इन्द्र बहादुर खड्काले दिर्घकालीन विकासको मोडलमा परिवर्तन ल्याएपछि मात्रै मानिसको व्यवहारमा परिवर्तन आउने भन्दै नगरपालिकाले दिर्घकालीन विकासको योजना बनाउनुपर्ने बताउनुभयो । पूर्व सांसद खड्काले कृषिमा प्राङगारिक मलको प्रयोग, अगौनिक उद्पादन र वातावरणमैत्री व्यबहारले मात्रै जिरी नगरको उघेश्य पूरा हुने धारणा राख्नुभयो ।

यस्तै, जिरी नगरपालिकाका प्रथम नगरप्रमुख टंक बहादुर जिरेलले जिरीको विकास र समृद्धिमा दुरदृष्टिका साथ ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरीको’ उद्धेश्य तय गरिएको उल्लेख गर्दै नगरपालिकाका आगामी योजना तथा कार्यक्रमहरु पूर्व निर्धारित उद्धेश्य बमोजिम निर्धारण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि, पशुपालन र अर्गानिक उत्पादनका लागि अनुदान लगेका किसानहरुबाट उपलब्धीको सट्टा अनुदानकै दुरुपयोग भएको गुनासो आएको भन्दै उत्पादनको आधारमा मात्रै अनुदान वितरण गर्न सुझाव दिनुभयो ।

यस्तै, जिरीका वुद्धिजीवी एवम् श्रष्टा टेक बहादुर जिरेलले जिरी नगरको नारा र उद्धेश्यलाई सार्थकता दिन कृषि कलेज सञ्चालनमा ल्याउनुपर्ने धारणा राखनुभयो । उहाँले जिरीको सुन्दरतालाई बचाइराख्न वनजंगलको संरक्षण र रुख कटानलाई रोक्नुपर्ने बताउनुभयो । जिरी नगरपालिकाको रणनीतिक योजना निर्माणका लागि आयोजित कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले पनि आ–आफ्नो धारणा राखेका छन् ।

यसैगरी, नेपाली कांग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पाले कृषि र पर्यटन विकासले मात्रै जिरीको विकास सम्भव रहेको बताउनुभयो । उहाँले जिरीको धार्मिक पर्यटनमा समेत जोड दिनुभयो । यस्तै, नेकपा एमाले जिरी नगरकमिटीका अध्यक्ष केशवकुमार कार्कीले दीर्घकालीन ‘मिसन र भिजन’ भए मात्रै जिरी नगरले लिएको लक्ष्य पुरा हुने धारणा राख्नुभयो । नगरपालिकामा कृषि विकास बोर्ड गठन गरेर कृषि नीति कार्यक्रम र योजना बनाउनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दोर्जी शेर्पा, नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका उपाध्यक्ष ङिमापल्दे शेर्पा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मोहन खड्का र एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भूमिराज खड्काले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

पूर्व जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको सुझावपछि आफ्नो धारणा राख्दै नगरप्रमुख मित्र बहादुर जिरेलले विकासको मोडललाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाले प्राप्त सुझाव र साझा अवधारणाका साथ अघि बढ्ने बताउनुभयो । उहाँले स्थानीय विकासको यात्रामा नगरपालिकाले हालसम्म आधारभूत नीति नियम, वस्तुगत विवरण र दीर्घकालीन योजना तयार गरिसकेको भन्दै छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई सरकारी र सामाजिक दुवै तहबाट प्रकृयावद्ध रुपमा अघि बढाउने लक्ष्य राखिएको बताउनुभयो । यस्तै उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले अन्तरक्रियामा प्राप्त सुझावले जिरीको विकासको रणनीतिक योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सबैको सकारात्मक र रचनात्मक सुझावले मात्रै जिरीको रणनीतिक योजना राम्रो बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा गुगल व्यवसायि कन्सल्टेन्सीका प्रतिनिधि विर्ख क्षेत्रीले जिरीको विकासको अवधारणपत्र बनाएर प्रस्तुत गर्नुभएको थियो ।