images
images

माओवादीले प्रधानमन्त्री प्रचण्डका भाई नारायणलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने

  • २७ फाल्गुन २०८०, आईतवार १९:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

बालुवाटारमा आज बेलुकी बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई समेत रहेका नारायणलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । स्वर्गिय बुवा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेष्ठ सुपुत्र नारायण दाहाल ‘सरल’ माओवादी जनयुद्धलाई सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ । कास्की जिल्लाको ढिकुरपोखरीमा परिवारको जेठो सन्तानको रुपमा नाराणय दाहालको जन्म २०१२ साल चैत्र १६ गते भएको हो । चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कूले शिक्षा पुरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो ।

२०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसँगै २ घण्टा हिडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाई दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिनुभभएको थियो । २०३७ सालदेखि पार्टीको पूर्णकालिन सदस्य बन्नुभएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । समाजको सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुदैँ दोस्रो सम्मेलनपछि महासचिवको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी संगठन विस्तारमा समर्पित रहनुभयो ।

भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाउनु भएका दाहालले आफ्नो जीवनको ठूलो हिस्सा पार्टीको प्रवास कमिटी विस्तारमा खर्च गर्नुभएको थियो । २०६० सालदेखि नेपाल फर्कनु भएका दाहाल जनयुद्ध उत्कर्षको बेला भेरी, कर्णाली राज्य समितिको काममा जुट्दा धेरै पटक सेनाको घेरा र मोर्चामा बाँच्न सफल हुनुभएको थियो । दाहाल नेकपा माओवादीको मुख्य राजनीतिक एजेण्डा मानिएको संविधानसभा मार्फत नयाँ संविधान बनाउने उद्देश्य पुरा गर्न गठन गरिएको व्यवस्थापिका संसद् २०६३ सालमा सदस्य बन्नुभयो । २०६४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित बन्नुभएका दाहालले नेपालको ऐतिहासिक संविधान सभा मार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भयो ।

अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्रीलमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिका समेत निर्वाह गर्नुभएको थियो । पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारीबाट कहिल्यै पछि हट्नुभएन ।