images
images

गोकुलगंगा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

  • २७ पुष २०७९, बुधबार २०:००

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकाको बाह्रौ गाउँसभा (हिउँदे अधिवेश) सम्पन्न भएको छ ।

गाउँपालिकाको कार्यालय रस्नालुमा आज बाह्रौ गाउँसभा सम्पन्न भएको हो । सभामा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको बजेट कार्यान्वयनको समिक्षा विवरण प्रस्तुत तथा सभाको उद्धघाटन गर्नुभएको थियो ।

यस्तै, उपाध्यक्ष उषादेवी कार्कीले गाउँपालिकाको विनियोजन ऐन २०७९ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विद्येयक २०७९ को मस्यौदा सहित संशोधित कार्यक्रम प्रस्तुत गर्नुका साथै गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९/८० मा सुचिकृत भएका मेलमिलाप कर्ताहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले पालिकाको जलस्रोत ऐन २०७७ लाई संशोधन गर्न बनेको विद्येयक २०७९ को मस्यौदा तथा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९ प्रस्तुत गर्नुभएको थियो । सभामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतद्धारा प्रस्तुत कार्यक्रम तथा विद्येयकमाथि छलफल भई पारित भएको छ । साथै, गाउँपालिकाको विगतका वर्षहरुको अन्तिम लेखा परिक्षणको प्रतिवेदनले औँल्याएको नियमित गर्नुपर्ने एवम् असुल उपर गर्ने विषयहरु प्रस्तुत तथा छलफल भएको छ भने अन्य विविध विषयमा समेत छलफल भएको छ । सभामा वडाध्यक्ष तथा वडासदस्यहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।

गोकुलगंगाको बाह्रौ गाउँसभामा वडा नम्बर १ का वडाध्यक्ष छत्र बहादुर बस्नेत, वडा २ का अध्यक्ष सुन्दर कार्की, वडा नम्बर ३ का अध्यक्ष नरविक्रम कार्की, वडा ४ का अध्यक्ष रामचन्द्र बस्नेत, वडा नम्बर ५ का अध्यक्ष दिपक कार्की र वडा नम्बर ६ का अध्यक्ष चन्द्र सुनुवार सहित कार्यपालिका सदस्य तथा वडा सदस्यहरु र पालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रमको सहजिकरण रोजगार संयोजक पर्शुराम कार्कीले गर्नुभएको थियो ।