images
images

ठमेल र दरबारमार्ग नयाँ वर्षबाट २४ सै घण्टा खुल्ने

  • २९ चैत्र २०८०, बिहीबार ०६:२२

काठमाडौँ । काठमाडौँको ठमेल र दरबारमार्ग नयाँ वर्षबाट २४ सै घण्टा खुल्ने भएको छ ।

पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र आगामी वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताउनुभएको हो । ठमेलमा हाल बिहान ४ बजेसम्म क्लब खुल्ने गरेको थियो । तर अब रात्रीकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्को लगायत मनोरन्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्ने भएका छन् । सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगजानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने भएको हो । नयाँ वर्षको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नुहुने भएको छ ।

ठमेल र दरबारमार्गको रात्रीकालिन व्यवसाय वैशाख १ गतेदेखि लागु हुने गरी सुरक्षा तयारी गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार भोली जिल्ला सुरक्षा समितिको बैठकले सो मापदण्ड पारित गरेपछि लागु हुनेछ । आचारसंहिता अनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने परिषदले जनाएको छ ।