images
images

लगानी सम्मेलनमा पहिलो नम्बरमा दुई खर्ब बढीको खिम्ती–ठोसे–शिवालय आयोजना शोकेस गरिँदै

रामेछाप । लगानी बोर्डले खिम्ती–ठोसे–शिवालय जलविद्युत आयोजनामा वैदेशिक लगानी खोज्ने भएको छ ।

विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा खिम्ती–ठोसे–शिवालयमा आयोजना आयोजना सहित खर्ब भन्दा बढीका ठूला जलाशययुक्त आयोजनामा लगानीको आह्वान गर्ने भएको हो । वैशाख १६ र १७ गते हुने विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा ठूला जलाशययुक्त आयोजनामा २०० मेगावाटमाथिका ४ वटा आयोजना सम्मेलनमा शोकेस गरिँदै छ । सम्मेलनमा सबैभन्दा ठूलो खिम्ती ठोसे शिवालय आयोजना हुनेछ । लगानी सम्भाव्य यो आयोजना १२ सय १६ मेगावाटको छ । विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाको प्रारम्भिक लागत अनुमान २ खर्ब ३१ अर्ब रुपैयाँ छ । आयोजनालाई १७ सय मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाउँदा यो आयोजनाबाट १७ सय मेगावाट विजुली उत्पादन गर्ने जलाधार भेटिएको छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

तर आयोजनाको क्षमता बढ्दा लागत समेत बढ्नेछ । रामेछाप र दोलखा छुट्याउने खिम्ती–ठोसे–शिवालयमा आयोजना बनाउने योजना छ । ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत् उत्पादन गर्न सकिने विभागको अनुमान छ । यसो गर्दा देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माण गर्न सकिने देखिएको छ । खिम्ती हिम नदी हो । खिम्ती–ठोसे आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ भने अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ ।