images
images

एक किलो सुन पेटमा बाँधेर लखर–लखर हिँडेका सिन्धुपाल्चोकका पुरुषलाई प्रहरीले देखेपछि…

  • २९ फाल्गुन २०८०, मंगलवार १३:०५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाबाट एक किलो सुनजस्तो देखिने वस्तु वरामद भएको छ ।
बाह्रविसे नगरपालिका–३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका–५ मार्मिङका २३ वर्षीय थारचेन तेम्बा तामाङ पक्राउ परेका हुन् । पेटमा बाँधेर लुकाएर ल्याएको अवस्थामा फेला परेपछि उनलाई हिजो बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे ११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको पेटमा सुन बाँधिएको अवस्थामा फेला परेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता परियारलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।