images
images

क्रिकेटर लामिछाने २० लाख धरौटी बुझाएर छुटे कारागारबाट

  • २९ पुष २०७९, शुक्रबार १४:५७

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् ।

लामिछाने आज धरौटी बुझाएर रिहा भएका हुन् । आज बिहान लामिछानेका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका थिए । अदालती प्रक्रिया सकिएसँगै २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् । नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । सोही मुद्धामा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । लामिछाने गत असोज २१ गते विदेशबाट फर्किने क्रममा पक्राउ परेका थिए ।

पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक सहितका सर्तहरु भने राखेको छ । यसैगरी, अदालतले लामिछानेलाई सो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीका टिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ । अदालतले लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसाग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्ने’ भन्ने आदेश दिएको छ भने कुनै काम विशेषले काठमाडौं उपत्यका छाड्नुपरे छाड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिन पनि भनेको छ ।