images
images

प्रधानमन्त्री प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिँदै

  • ३० फाल्गुन २०८०, बुधबार ०६:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिन लाग्नुभएको छ ।

नयाँ सत्ता गठबन्धन बनाएर मन्त्रीपरिषद फेरबदल गरेका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा एमालेलगायत दलसँग सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसका लागि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले सांसदहरुलाई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाइसकेका छन् । एमालेका ७८, माओवादी केन्द्रको ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदले प्रचण्डलाई मत दिने निश्चित भएको छ ।

यस्तै संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको छ । प्रतिनिधिसभामा सभामुख र उपसभामुखसहित २ सय ७४ जना सांसद रहेका छन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यक पर्नेछ ।