images
images

आजदेखि बागमती प्रदेशभित्र लाइसेन्स ट्रायलमा ७० को अंकभार लागू

  • २ फाल्गुन २०७९, मंगलवार ०८:१७

जिरी (दोलखा) । आजदेखि बागमती प्रदेशभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायलमा ७० को अंकभार लागू हुँदैछ ।

बागमती प्रदेशका पाँचवटै यातायात कार्यालय र ट्रायल सेन्टरमा यो नियम लागू हुन लागेको हो । यो अंकभार लागू भएपछि ट्रायल दिनेमध्ये करिब ७० प्रतिशत उत्तीर्ण हुने अनुमान गरिएको छ । यसअघि कडा नियम हुँदा ३५ प्रतिशतले मात्रै ट्रायल कटाउने गरेका थिए । यातायात व्यवस्था विभागका अनुसार हाल ट्रायलका लागि लिखित फाराम भर्नेको संख्या करिब ३० हजार पुगेको छ । लाइसेन्स लिन असहज हुने र समयमै पालो नआउने भएपछि कतिपयले विनालाइसेन्स सवारी चलाइरहेका छन् ।

आजदेखि ७० को अंकभार लागू गर्न हिजो यातायात कार्यालय कुमारी हलमा अभ्यास समेत गरिएको छ । यसअघि जनशक्ति नभएको बहानामा बागमती प्रदेशमा यो नियम लागू भएको थिएन । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दबाबपछि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले पनि लागू गर्न लागेको हो । यो नियम लागू गरेपछि जनशक्तिको अभाव नहुने यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले बताउनुभयो ।