images
images

ठुलो परिमाणको लागुऔषध सहित १० जना पक्राउ, नेपालबाट बैंककमा चरेस तस्करीको प्रयास

  • २ फाल्गुन २०७९, मंगलवार १८:२६

काठमाडौं । प्रहरीले ठुलो परिमाणको लागुऔषध सहित १० जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

चार जना थाई नागरिक र ६ जना नेपाली गरी १० जनालाई प्रहरीले ठुलो परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो । साँढे २३ किलो लागुऔषध चरेशसहित चार जना थाई नागरिक पक्राउ परेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो । पक्राउ परेका थाई नागरिकको लगेज चेकजाँचका क्रममा फल्स बटम बनाएर चरेस लुकाएको पाइएको हो । उनीहरुले नेपालमा उत्पादन हुने चरेस बैंककमा लैजान खोजेको देखिएको छ । यसरी बरामद भएको चरेस अवैध बजार मुल्य प्रतिकिलो ३५ हजार रुपैँया छ ।

यस्तै काभ्रेपलाञ्चोकका एक सहित ६ जना ठुलो परिणामको लागुऔषध सहित पक्राउ परेका छन् ।प्रहरीले काभ्रेपलाञ्चोकका दिपक तमाङ, सोखुलुम्बुका लाक्पा शेर्पा, नुवाकोटका लक्ष्मण खाती सहित ६ जनालाई पक्राउ गरेको हो । २० हजार ३ सय एम्पुल, नाइट्राभेट ट्याब्लेट १२ हजार ९ सय ५० र नगद ४ लाख १७ हजार रुपैँया सहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको सुचनाका आधारमा माघ २४ गतेदेखि २७ गतेसम्म चलाएको अपरेशनका क्रममा भारतको पटनामा खरिद गरेर ल्याइएको औषधिजन्य लागुऔषध सहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।