images
images

दोस्रो जिरी महोत्सव सकियो, ३० हजार बढीले गरे अवलोकन

  • २ बैशाख २०८१, आईतवार १९:४३

जिरी(दोलखा) । दोस्रो जिरी महोत्सव आजबाट समापन भएको छ ।

गत चैत २३ गतेदेखि पर्यटकीय नगरी जिरीमा सुरु भएको महोत्सव आज सकिएको हो । १० दिने महोत्सवको समापन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । समापन कार्यक्रममा बोल्दै उहाँले सगरमाथाको प्रवेशद्धार जिरीलाई महोत्सवले राष्ट्रिय स्तरमा प्रचारप्रसारको लागि सहयोग पुर्याएको बताउनुभयो ।

यस्तै कार्यक्रममा जिरी नगरका प्रमुख मित्र बहादुर जिरलले उद्योगी व्यवसायिलाई जिरीको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नयाँ वर्षलाई समेत लक्षित गरी आयोजना गरिएको महोत्सवको करिब ३० हजार भन्दा बढी मानिसले अवलोकन गरेको आयोजक जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर डेढ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । आयोजक जिरी उद्योग वाणिज्य संघले महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

समापनमा मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य रामेश्वर मानन्धर, जिरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुकुमार कार्की, जिरी उद्योग वाणिज्य संघका सचिव सुमन शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रथम नगरप्रमुख मित्र बहादुर जिरेल, नेपाली कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पा, एमाले जिरी नगरकमिटीका अध्यक्ष केशव कुमार कार्की लगायतको सहभागीता थियो । महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो ।