images
images

रामेछापमा १२ घर जलेर नष्ट हुँदा करोडौंको क्षति, राहत उपलब्ध गराउन प्रधानमन्त्रीलाई पत्र

रामेछाप । रामेछापमा विहिबार आगलागीबाट १२ घर जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ ।

गत बिहीबार जंगलबाट सल्किएको आगो बस्तीमा लाग्दा १२ घर सहित २६ घर गोठ जल्दा एक करोड ८६ लाख भन्दा बढीको क्षति भएको हो । आगलागीमा मानवीय क्षति नभए पनि करोडौंको धनमाल नष्ट भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीका अनुसार आगलागीबाट १ करोड ८६ लाखको क्षति भएको छ । हिजो जिल्ला प्रहरी कार्यालय रामेछापले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरेको हो । रामेछाप नगरपालिका–९ राताटारस्थित हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । तर, आगो कसले लगाएको भन्ने बारे केही खुलेकोे छैन । आगलागीको कारण १२ घरपरिवार विस्थापित भएका छन् । पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय, विभिन्न संघ संस्था र राजनीतिक दलहरुले अत्यावश्यकीय त्रिपाल, भाडाकुँडा र खाद्यन्न सामाग्री सहयोग गर्न थालेका छन् ।

पिडितलाई राहत  उपलब्ध गराउन प्रधानमन्त्री ‘प्रचण्ड’लाई पत्र

आगलागीबाट विस्थापित भएका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाइएको छ । हिजो प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित तारानारायण श्रेष्ठको नेतृत्वमा पुगेका टोलीले प्रधानमन्त्री प्रचण्डलाई आगलागी पीडितलाई राहत उपलब्ध गराउन पत्र बुझाएको हो । पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षसँग समन्वय गरेर सरकारको तर्फबाट अग्नी पिडितहरुलाई गर्नुपर्ने जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो । सांसद श्रेष्ठले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन बागमती प्रदेशका मुखयमन्त्री शालिकराम जम्कट्टेललाई पनि अनुरोध गरिएको बताउनुभयो ।