images
images

दोलखाको ७८ हेक्टर वनक्षेत्रमा डढेलो, कालिञ्चोकमा सबैभन्दा बढी क्षति

दोलखा । दोलखाको ७८ हेक्टर क्षेत्रफल वनक्षेत्रमा डढेलो लागेको छ ।

डिभिजन वन कार्यालय दोलखाका अनुसार जिल्लाको ६ वटा सब डिभिजन अन्तर्गतका ७८ हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो । १८ वटा सामुदायिक वन क्षेत्रमा आगलागी भएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा चालु वर्ष कम हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष हालसम्मको अवधिमा १ सय २६ दशमलव ५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको थियो । चालु वर्ष जिल्लाको कालिञ्चोक क्षेत्रमा सबैभन्दा बढी डढेलो लागेको छ । कालिञ्चोक सब डिभिजन कार्यालयका अनुसार सो क्षेत्रमा २० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

यस्तै, मेलुङ सब डिभिजन कार्यालयका अनुसार मेलुङ क्षेत्रमा १६ हेक्टर क्षेत्रफलमा बनमा डढेलो लागेको छ । वर्षेनी वन डढेलोबाट ठूलो क्षति हुने गरेको छ । जंगलमा आगो लगाउने व्यक्तिको पहिचानमा समस्या हुने भएकाले यस्ता घटनामा कमी आउन सकेको छैन । कतिपयले घाँस पलाउने लोभमा वन क्षेत्रमा आगो लगाउने गरेको पाईएको छ । सामान्यतया गाउँबस्ती वरपर हुने सामान्य हेलचेक्रयाईँका कारण सिंगो मानवबस्ती र वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । आगलागीबाट सर्वसाधारणको घरगोठ मात्रै नभई वर्षेनि वनक्षेत्रमा वनस्पति तथा जैविक विविधतामा समेत ठुलो असर पुग्ने गरेको छ ।

वनक्षेत्रमा लाग्ने डढेलोका कारण वन, वनस्पति र वन्यजन्तुमा समेत गम्भीर प्रभाव पर्ने गरेको छ । डढेलो भएको जमिनमा भूक्षय हुनुका साथै वनपैदावार डढेर निस्कने धुवाँ र कार्बन ग्याँसबाट जलवायु र समस्त पर्यावरणमा क्षति, हावाको गुणस्तरमा कमी, कार्वन उत्सर्जनको प्रभाव, पानीका स्रोतहरुको कमी, बाढी पहिरोको असरहरु निम्त्याउने गर्दछ । डिभिजन वन कार्यालय दोलखाका सुचना अधिकारी चिरञ्जीवि थापामगरले गत वर्षको तुलनामा केही कमि आएको देखिएपनि वनमा डढेलो लगाउने क्रम नरोकिएको बताउनुभयो । उहाँका अनुसार चालु वर्ष थाङसा देउराली सामुदायिक वनमा आगो लगाउने एक जनालाई कारवाही प्रक्रिया अघि बढाईएको र अर्का एकजनालाई तिखातल सामुदायिक वन उपभोक्ता समूहले कारवाही गरेको छ ।

कुनै सामुदायिक वनमा आगो लागेको जानकारी पाउनासाथ उपकरण सहित तत्काल परिचालन हुनेगरी १० जना हरित स्वयमसेवकलाई तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय दोलखा प्रमुख शिव सापकोटाले बताउनुभयो । कुनै व्यक्तिले जंगलमा आगो लगाएर क्षति भएमा क्षति भए बराबरको विगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । सुख्खायाम सुरु भएसँगै दोलखाका सामुदायिक, निजि र कवुलियति वनमा धमाधम आगलागीका घटनाहरु भइरहेका छन् । आगलागीको घटना न्युनिकरणका लागि डिभिजन वन कार्यालयले समुदायमा जनचेतनामुलक कार्यक्रम गरीरहेको बताएपनि त्यो कार्यक्रम प्रभावकारी बन्न नसकेको जनगुनासो बढेको छ ।