images
images

स्याङ्जाका २६ वर्षिय युवकले यसरी गरे राष्ट्र बैँकको सर्भरमा १५ हजार पटक आक्रमण

  • ४ बैशाख २०८१, मंगलवार १५:३१

काठमाडौँ । स्याङ्जाका २६ वर्षिय युवकले राष्ट्र बैँकको सर्भरमा १५ हजार पटक आक्रमण गरेको पाईएको छ ।राष्ट्र बैँकको बेभसाईट र वेभ एप्लिकेशनहरुमा साईबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साईबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा ती युवकले १५ हजार पटकसम्म आक्रमण गरेको खुलेको हो ।

राष्ट्र बैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।

राष्ट्र बैंकको उक्त पत्रपश्चात ब्यूरोले अनुसन्धान गर्दा २७.३४.४८.२११ र २७.३४.४८.१६३ आईपी प्रयोग गरेर ह्याक भएको खुलेको थियो । सो क्रममा पोखराबाट ह्याक गरेको देखिएपछि कास्की प्रहरीको सहयोगमा लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो । लामिछानेलाई पक्राउ गरेपछि उनको कोठाबाट प्रहरीले ५ थान मोबाईल, १ थान कम्प्युटर, हार्ड डिस्क ४ थान, मेमोरी कार्ड र मेमोरी १÷१ थान र राउटर एक थान बरामद गरेको थियो ।  बरामद भएका कम्प्युटर तथा मोबाइलहरू म्याग्नेट एक्सिमो फरेन्सिक टुल्समार्फत प्राविधिक जाँच गर्दा १५ हजार पटकसम्म साइबर आक्रमण गरेको भेटिएको ब्यूरोले जनाएको छ ।