images
images

अख्तियारको एक्सनपछि तामाकोशी गाउँपालिकामा तालावन्दी, कार्यवाहक वडा अध्यक्षमा लफडा

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेपछि गाउँपालिकाको कामकाज ठप्प भएको छ ।

गाउँपालिकाका पूर्व उपाध्यक्ष, वर्तमान वडा अध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारी बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भए लगत्तै गाउँपालिकाको कामकाज ठप्प भएको हो । अख्तियारले मुद्धा चलाएका तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद काफ्ले पदवाट निलम्वन भएपछि सो स्थानमा कार्यवाहक वडा अध्यक्ष तोक्ने बिषयलाई लिएर गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ भने सोही मुद्धामा लेखापाल रामवहादुर कार्की समेत निलम्वनमा परेका कारण आर्थिक कारोवार समेत ठप्प छ । वडा नम्बर ३ का वडा अध्यक्ष निलम्वित भएपछि बाँकी रहेका ४ जना वडासदस्य मध्ये कसलाई कार्यावाहक दिने भन्ने बिषयमा विवाद सुरु भएको हो ।

सोही विवादका कारण गाउँपालिकाको कार्यालयमा चार दिनदेखि तालावन्दी गरिएको छ । युवा संघर्ष परिचालन समितिका नामवाट गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको हो । समितिको नामवाट पालिकाको मुल गेटमा टाँसिएको बिज्ञप्तिमा अख्तियारले मुद्धा चलाएपछि पालिकाको सेवा प्रभावित भएको, लेखाको काम नहुँदा विकासनिर्माणका योजना लगायतको भुक्तानी हुन नसकेको, वडा नम्बर ३ का वडा अध्यक्षले दिएको कार्यवाहकको जिम्मेवारीलाई गाउँपालिकाको कार्यालयले अनुमोदन नगरेको लगायतका बिषयहरु उल्लेख गरिएको छ ।

कार्यवाहक वडा अध्यक्षकालागि चलखेल
युवा संघर्ष समितिको नामवाट विहिवार गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिए पनि सो ताला नेपाली कांग्रेसको निर्देशनमा लगाएको अन्य राजनीतिक दलले बताएका छन् । तामाकोशी गाउँपालिका–३ जफेका वडा अध्यक्ष रामप्रसाद काफ्ले बिरुद्ध फागुन २७ गते विशेष अदालतमा मुद्धा चल्नुभन्दा तीन दिन अघिकै मितिमा काफ्लेले नेपाली कांग्रेसवाट निर्वाचित वडा सदस्य प्रचण्डद्धिप कार्कीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको र सोही जिम्मेवारी कायम गराउन कांग्रेसले दवावस्वरुप तालावन्दी गरेको आरोप छ । तालावन्दीपछि गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी काठमाडौं गएका छन् भने त्यसअघि नैं विदामा बसेका बद्रीप्रसाद शर्मा वाग्ले अझै कार्यालय फर्किएका छैनन् । तालावन्दीपछि वस्तुस्थिती बुझ्न सदरमुकाम चरिकोटवाट सोमवार गाउँपालिकाको कार्यालय पुगेको प्रहरी टोली पनि त्यतिकै फर्किएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर २ जफेमा नेपाली कांग्रेसवाट अध्यक्ष तथा वडा सदस्यहरुमा प्रचण्डद्धिप कार्की र बिमला मिजार तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीवाट क्रमशः देवी पोखरेल र लिलामान मोक्तान बिजयी भएका थिए । दोश्रो कार्यकालकालागि वडा अध्यक्षमा निर्वाचित भएका पोखरेल आफ्नो पहिलो कार्यकालमा भएको विकास योजनामा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भई निलम्बन परेपछि कांग्रेसले प्रचण्डद्धिपलाई कार्यवाहक वडा अध्यक्ष बनाउन खोजेको छ । नेकपा एस भने तामाकोशी गाउँपालिकाको वैठक संचालन सम्वन्धी कार्यविधिले वडा अध्यक्ष रिक्त रहेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्ने र कार्यविभाजन नियमावलीमा पनि जेष्ठ सदस्यलाई कार्यवाहक दिनु पर्ने स्पस्ट व्यवस्था भएको भन्दै लिलामानलाई कार्यवाहक वडा अध्यक्ष बनाउनु पर्ने पक्षमा छ ।

वडा अध्यक्ष र कर्मचारी निलम्वित
तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ जफेको जामुनेमा २०७८ सालमा सभाहल तथा शौचालय निर्माणमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति समेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै गत फागुन २७ गते अख्तियारले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो ।

अख्तियारले योजनाको अनुगमन गरी भुक्तानीकालागि शिफारिस गर्ने तत्कालिन उपाध्यक्ष उर्मिला खड्का, तत्कालिन वडा अध्यक्षहरु महेश्वर काफ्ले (वडा नम्बर १) र होमवहादुर श्रेष्ठ (वडा नम्बर ४), वडा नम्बर ३ का तत्कालिन र हालका वडा अध्यक्ष रामप्रसाद काफ्ले, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत विजय लुइँटेल, तत्कालिन इन्जिनियर सुवोधकुमार चापागाईं, सव इन्जिनियर सिर्जना दुवाल र तत्कालिन योजना शाखाको जिम्मेवारीमा रहेका रामवहादुर कार्की (हालका लेखापाल) बिरुद्ध दर्ता गरेको थियो । मुद्धा दर्ता लगत्तै बर्तमान वडा अध्यक्ष काफ्लेसहित सवै कर्मचारी निलम्वित भइसकेका छन् । सोही मुद्धामा उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत र कोषाध्यक्ष माण्डवी पोखरेल बिरुद्ध पनि मुद्धा दर्ता भएको छ ।

जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्दा लागत अनुमान डिजाइन संशोधन नगरी निर्माण कार्यको आकार र रुप हेरफेर गर्नुकासाथै निर्धारित शर्त तथा मापदण्ड विपरीत भवन निर्माण गरी भुक्तानी दिन नमिल्ने १२ लाख ८९ हजार ३ सय २० रुपैयाँ रकम भुक्तानी दिएको अख्तियारको दावी छ ।