images
images

सुस्ताएको जिरीलाई चलायमान बनाउन दोस्रो जिरी महोत्सवको आयोजना, तयारी तीब्र

जिरी(दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा चैत २३ गतेदेखि दोस्रो जिरी महोत्सव सञ्चालन हुने भएको छ ।

दोस्रो जिरी महोत्सव चैत २३ गतेदेखि वैशाख २ गतेसम्म १० दिन चल्नेछ । नेपालको स्वीजरल्याड, सगरमाथाको प्रवेशद्धार समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योग छन् आधार भन्ने नाराका साथ सुरु हुन लागेको महोत्सवको तयारी समेत सुरु भएको छ । हाल आयोजक उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिक दल लगायतले जिरी महोत्सव २०८० को तयारी स्वरुप जिल्ला र राजधानी केन्द्रित छलफललाई तीब्र पारेका छन् । अहिले आयोजक दोलखा घर भई काठमाडौं बसोबास गर्दै आएका नागरिकहरुसँगको छलफल र प्रचारमा केन्द्रित रहेको हो ।

जिरी महोत्सवले केहीवर्ष यता सुनसान जस्तै बनेको जिरी पुनःचलायमान हुने अपेक्षा गरिएको छ । नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको महोत्सवको उद्धेश्य बढी भन्दा बढी पर्यटक जिरी भित्रयाउनु रहेको आयोजकले जनाएको छ । पर्यटकहरुलाई आकर्षित गराउने, सुस्ताएको जिरीलाई चलायमान बनाउनुको साथै अर्गानिक, स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्रीवितरण गरिने, पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको मुख्य आयोजक जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा झाँकीहरुको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । जिरी उद्योग वाणिज्य संघ दोलखाको मुख्य आयोजना र जिरी नगरपालिकाको आयोजना तथा युवा सञ्जाल जिरीको सहआयोजना र स्थानीय छिमेकी पालिकाहरुको साझेदारमा हुन लागेको महोत्सवमा एलिना चौहान, रचना रिमाल, उर्गेन दोङ, ज्योति मगर, आस्था राउत लगायत दर्जन भन्दा बढी राष्ट्रिय र स्थानीयकलाकारहरु आउने छन् । कृषि उपजहरुको प्रदर्शन र विक्री, हस्तकला, चित्रकला, वस्तुकलाको प्रदर्शन र विक्री, रमाइलो खेल तथामनोरञ्जन, कलाकारहरुको बेजोड प्रस्तुती, सांस्कृतिकझाँकीप्रर्दशन, मौलिकखानाका परिकार, गुराँस, चिमाल, सुनाखरी, चौरी, वन्यजन्तु, हिमशृखला, चिया, लोक्ता, याकचिज, छुर्पी जस्ता उत्पादनको प्रत्यक्ष अनुभव, पदयात्रा, प्याराग्लाइडिङ, वृत्तचित्र, वयस्क भलिबल प्रतियोगिता, किवी, रेन्वो ट्राउट र कालिज, साहित्य, साहित्यकार र विकास संवाद महोत्सवको प्रमुख आकर्षण हुन् । यसअघि दोलखामा जिल्ला सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा गत पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत दोलखा महोत्सवको आयोजना गरिएको थियो ।

यसैबीच, पर्यटकीय गरी जिरीमा दोस्रो जिरी महोत्सवलाई लक्षित गरी सरसफाई अभियान सञ्चालन गरिने भएको छ । नगरपालिकाले लिएको क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरीको अभियानलाई सार्थक बनाउन र जिरीमा हुन लागेको महोत्सवलाई लक्षित गर्दै यही चैत १९ गतेदेखि जिरीको बजार क्षेत्र, पार्क लगायतका पर्यटकीय स्थलहरु सरसफाई गरिने भएको हो । आज नगरपालिकामा आयोजित ‘सफा जिरीको लागि साझा अभियान विषयक’ अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले स्थानीय सरकार, स्थानीय राजनीतिक दल, अगुवा, व्यवसायि र स्थानीय नागरिक सबै जना मिलेर सरसफाईको लागि आव्ह्वान गरेको छ ।