images
images

निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गर्ने दोलखा कांग्रेस सभापतिको चेतावनी

दोलखा । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन दलहका जिम्मेवार नेता र कार्यकर्तावाटै अन्तरघात भएको भन्दै उहाँले अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने बताउनुभयो । बाम लोकतान्त्रिक गठबन्धनवाट दोलखामा निर्वाचित उम्मेदवारहरुलाई बद्याई तथा शुभकामना दिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । दोलखामा गठबन्धनको पक्षमा उत्साहजनक जनलहर देखिए पनि कांग्रेस र माओवादीका सूर्यमुखी नेता, कार्यकर्ताका कारण आफुले चुनावमा पराजय भोग्नु परेको बताउनुभयो । संगठनमा कांग्रेस र माओवादी बलियो रहेको र स्थानीय तहमा बिजय भएका स्थानहरुमै गठबन्धनलाई कम भोट आएको उहाँको भनाई छ ।

कांग्रेस सभापति लामाले नेपाली कांग्रेसभित्र पैसा खाएर अन्र्तघात गर्ने करिव २ सय जनाको लिस्ट तयार भईसकेको र सो संख्या ३ सय पुग्न सक्ने बताउनुभयो । सामान्य कार्यकर्तालाई भन्दा पनि अन्र्तघातको अगुवाई गर्ने नेतृत्व तहका नेतालाई कारवाही गर्ने भन्दै लामाले ‘अन्र्तघातीको खुट्टा नभई टाउको काट्ने’ गरी कारवाही हुने बताउनुभयो । सभापति लामाले फेरी चुनाव लड्ने घोषणा पनि गर्नुभएको छ । माननीय हुन नदिएका कारण फेरी पनि चुनाव लड्नु पर्ने बाध्यता सिर्जना भएको भन्दै नेता लामाले भन्नुभयो, ‘जनमत हुँदाहुँदै अन्र्तघातीहरुले कति चोटी हराउँदो रहेछ, हेरौं ।’

कांग्रेस जिल्ला सभापति लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिकाको प्रमुखमा, संघीयता कार्यान्वयन पछिको पहिलो प्रदेशसभाको निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ वाट र हालै सम्पन्न निर्वाचनमा दोलखा प्रदेशसभा २ वाट उम्मेदवार बनेका थिए । गठबन्धनको साझा उम्मेदवार बन्दा पनि लामा पराजित भएका थिए ।