images
images

दोलखा प्रहरीले भन्यो–‘न्यौपानेलाई मानसिक र शारीरिक यातना दिएको छैन’

  • ८ फाल्गुन २०८०, मंगलवार १०:१५

दोलखा । सहकारी चोरी घटनामा प्रहरीले अनुषन्धान गरिरहेका दोलखाको पवटीका कपिलमणी न्यौपानेको आत्महत्या प्रकरणमा मानसिक तथा शारीरिक यातना नदिएको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज बिज्ञप्ति जारी गरी न्यौपानेलाई दोलखा प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले मानसिक यातना दिएका कारण आत्महत्या गरिएको भनी गरिएको प्रचार गलत र झुठा भएको बताएको छ । दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेश कुमार यादवले जारी गरेको बिज्ञप्तिमा न्यौपानेलाई प्रहरीले मानसिक तथा शारीरिक यातना दिइ मर्न बाध्य बनाएको भनि एकतर्फीरुपमा कपोलकल्पित र झुठा समाचार सम्प्रेषण गरेर प्रहरी संगठनको छविमा आँच आउने काम गरिएको उल्लेख छ ।

मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्योदय सहकारीमा भएको चोरीको घटनामा घरवेटी भएका नाताले अनुषन्धानकालागि न्यौपानेलाई कार्यालयमा बोलाएर सोधपुछ र प्रविधिक सहायतावाट समेत अनुषन्धान गरिएको प्रहरीले स्पस्ट पारेको छ । चोरीको घटनामा सोधपुछ गर्नु प्रहरीको कर्तव्य भएको र घटनाको अनुषन्धान भइरहेका बेला गलत प्रचार गर्दा अनुषन्धानलाई प्रभाव पर्ने दोलखा प्रहरीको भनाई छ । हाम्रो सुर्योदय सहकारीको पूर्व कोषाध्यक्ष र संस्थाको कार्यालय रहेको घरवेटी समेत रहेका न्यौपानेले सनिवार सुसाइट नोट लेखेर आत्महत्या गरेका थिए । उनले सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको भन्दै विभिन्न व्यक्तिहरुको नाम किटान गरेर लेखे पनि प्रहरीले यातना दिएको बारेमा केही उल्लेख गरेका थिएनन् ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपानेले आत्महत्या गरेपछि डिएसपी खड्काले टेलिफोन गरेर मानसिक यातना दिएका कारण आत्महत्या गरेको भन्दै मृतकका परिवारजन र एमालेका कार्यकर्ताहरुले प्रहरी बिरुद्ध प्रदर्शन गरेका थिए ।