images
images

बागमतीमा सरकार टिकाउन हम्मेहम्मे परिरहेको बेला माओवादी प्रदेश संसदीय दलको बैठक जारी

  • ७ चैत्र २०८०, बुधबार १५:३७

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा जारी छ ।

बैठकमा समसामयिक राजनीति, प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागबन्डाको विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो ।

बैठकमा बागमती संसदीय दलको नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेलेल, प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, माओवादी बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढाकाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीलगायत प्रदेश सांसदको उपस्थिति रहेको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा पनि सरकार गठनको प्रयास भइरहेको छ । बागमती प्रदेश सभामा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।

तर, यी तीन दल मिलेर मात्रै सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले हाल अन्य दलको पनि समर्थन जुटाउने कसरत चलिरहेको छ । साना दलहरुको मनस्थिति हालसम्म सत्ता गठबन्धनलाई सघाउने पक्षमा छैन ।सत्ता गठबन्धनका दलहरूलाई अङ्कगणितीय हिसाबले सरकार टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा साना दल निर्णायक अवस्थामा पुगेका छन् । तर अहिलेको सत्ता गठबन्धनलाई साना दलले साथ नदिने सङ्केत देखिएको छ ।