images
images

दोलखामा भूकम्पले क्षेतिग्रस्त ९७ प्रतिशत बिधालयको पुननिर्माण, ११ वटाको भवन बन्न बाँकी

  • ७ बैशाख २०८०, बिहीबार १७:४९

जिरी (दोलखा) । दोलखामा भुकम्पले क्षति पु¥याएका विद्यालय भवन पुर्ननिर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ ।

विनाशकारी भुकम्पका कारण क्षति भएका ३ सय ३९ विद्यालयमध्य हालसम्म ३ सय २८ वटा अर्थात करिब ९७ प्रतिशत सम्पन्न भएको हो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि गएका पराकम्पले दोलखामा ३ सय ३९ वटा विद्यालयमा क्षति पु¥याएको थियो । अब ११ वटा मात्रै विद्यालयको पुननिर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार चीन सरकारको अनुदान सहयोगमा पुननिर्माण हुने ३ वटा, भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने ५ वटा र एडिबीको सहयोगमा पुननिर्माण हुने ३ वटा विद्यालय भवन सम्पन्न हुन बाँकी रहेको हो । नेपाल सरकारले निर्माण गर्ने विद्यालय निर्माणको काम भने सकिएको छ ।

चिन सरकारको अनुदान सहयोगमा निर्माण हुने भनिएको ३ वटा विद्यालयमध्य जिरी माध्यमिक विद्यालयको पुननिर्माण कार्य हालैबाट सुरु भएकोे छ भने सर्व मावि जिलु र कालिनाग माविको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी, भारत सरकारको अनुदान सहयोगमा बन्ने १० वटा विद्यालयमध्य ५ वटा भवन सम्पन्न हुँदा ५ वटा निर्माणधिन अवस्थामा र एडिबीको सहयोगमा निर्माण हुने ११ वटा विद्यालयमध्य ३ वटा सम्पन्न हुन बाँकी रहेको शिक्षा प्रमुख श्रेष्ठले बताउनुभयो । भुकम्पका कारण क्षति भएका अधिकांश विद्यालय भवनको पुननिर्माण भइसकेकाले निर्माणको अन्तिम चरणमा पुगेका विद्यालयहरु असार मसान्तसम्म हस्तान्तरण गरिने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ ।

यद्धपी जिरी मावि भने अबको २८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । अझै पनि जिरी मावि सहित केही विद्यालयको निर्माण कार्य चालु आर्थिक वर्ष सकिने छैन । शैक्षिक सत्र २०७९ मा जिल्लाका ३ सय ३९ विद्यालयमा ४३ हजार ४३ जना विद्यार्थी अध्ययरत रहेका छन् भने १८ सय ९३ जना शिक्षक कार्यरत छन् ।