images
images

दोलखामा तीन दिनयता नियमित विद्युत आपूर्ति नहुँदा सेवाग्राही मारमा

जिरी (दोलखा) । दोलखामा तीन दिनयता नियमित विद्युत आपूर्ति नहुँदा सेवाग्राही मारमा परेका छन् ।

जिल्लाभरको अधिंकाश स्थानमा केही दिन यता नियमित विद्युत आपूर्ति नहुँदा सेवाग्राही मारमा परेका हुन् । नेपाल विद्युत प्राधिकरण दोलखा शाखाले सुचना जारी गरी ३३ केभि फिडरमै समस्या आएपछि दिउँसोको समयमा सेवा अवरुद्ध भएको जानकारी दिएको छ । तर, सो समस्या समाधान भएर जिल्ला सदरमुकाम लगायत अन्य स्थानमा नियमित विद्युत प्रवाह हुन थालेपनि अझै जिल्लाको केहि स्थानमा विद्युत आपुर्ति ठप्प भएको छ ।

गएराती परेको हिमपात, हावाहुरी तथा प्रतिकुल मौसमको कारण जिरी नगरपालिकाको ८ वटा वडा, बैतेश्वर गाउँपालिकाको सबै स्थानमा तथा गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपुर्ति सेवा ठप्प भएको नेपाल विद्युत प्राधिकरण दोलखाका सुचना अधिकारी राजेन्द्र चौधरीले जानकारी दिनुभयो । भिमेश्वर नगरपालिकास्थित विरुवामा रुख ढलेर पोलमा क्षति पुगेपछि विद्युत आपुर्ति बन्द भएको उहाँले बताउनुभयो ।
प्रशारण लाइन सुचारु गराउन प्राविधिकहरु बिहानैदेखि फिल्डमा खटिएको सुचना अधिकारी चौधरीले बताउनुभयो ।

विद्युत आपुर्ति ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् भने विभिन्न सँघ संस्था, कार्यालय र वैंक तथा वित्तिय संस्थाहरुको सेवा प्रवाहमा समस्या आएको छ । विद्युत आपुर्ति ठप्प हुँदा जिल्लामा सञ्चालित छापा तथा विद्युतीय सञ्चारमाध्यम समेत वन्द हुने अवस्थामा पुगेको छ भने केही सञ्चारमाध्यमको प्रशारण वन्द भएको छ । यो सँगै जिरीमा नेपाल टेलिकम अन्तर्गतको एन्टीसी मोबाईल सेवा पनि ठप्प भएको छ ।