images
images

वैधानिकतामा प्रश्न उठेपछि निर्माण व्यवसायी संघ दोलखाको निर्वाचन स्थगित

  • ८ चैत्र २०८०, बिहीबार १५:४०

दोलखा । दोलखा जिल्ला निर्माण व्यवसायी संघको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ ।

नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भनिएपनि अन्तिम समयमा निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन अधिकृत शम्भु गौतमले विज्ञप्ति जारी गरी विशेष कारणबस निर्माण व्यवसायी संघको निर्वाचन प्रक्रिया अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको छ । दोलखा जिल्ला निर्माण व्यवसायी संघको ८ औँ जिल्ला अधिवेशन अवैधानिक भएको भन्दै केही व्यवसायीले स्थानीय प्रशासनमा उजुरी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । विधान विपरीत अधिवेशन गरिएको भन्दै उजुरी परेपछि स्थानीय प्रशासनले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो ।

यसअघि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन भएको थियो । निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा पूर्ब अध्यक्ष रामेश्वर उप्रेती, वर्तमान उपाध्यक्ष राजेशकुमार श्रेष्ठ, वर्तमान महासचिव राजेश थापा र पूर्ब कोषाध्यक्ष कृष्ण पाख्रिनको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा छविलाल तमाङ, हरिबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, कृष्ण बहादुर दहालको उम्मेदवारी दर्ता भएको हो ।

द्धितीय उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको हो । निर्माण व्यवसायी संघ दोलखाको तृतीय उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, गणेश बिक्रम शाही र रमेश तमाङ, महासचिवमा महेश्वर काफ्ले र लाल बहादुर तमाङ, सचिवमा अनिल श्रेष्ठ, रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् । संघको कोषाध्यक्षमा गणेश बहादुर थापा, किशोर कुमार लामा तथा सह कोषाध्यक्षमा विष्णु प्रसाद उप्रेती र सुरेस गौतमले उम्मेदवारी दिएका हुन् ।