images
images

राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तह अनुसार बार तोकियो

  • ८ चैत्र २०७८, मंगलवार १३:०२

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तह अनुसार फरक–फरक दिन राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।

कार्यालयले आज सुचना जारी गर्दै चैत १० गतेदेखि लागु हुने गरी स्थानीय तह अनुसार छुट्टाछुट्टै दिन परिचयपत्र उपलब्ध गराउने जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाबाट हाल दैनिक ४५ देखि ५० वटा मात्रै राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको छ । तर राष्ट्रिय परिचयपत्रका लागि दैनिक जिल्ला प्रशासन कार्यालयमा एक सय भन्दा बढी मानिसहरु आउने गरेका छन् । ति सबै मानिसहरुलाई एकै दिनमा राष्ट्रिय परिचपत्र दिन नसकिने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तहअनुसार बार तोकेको हो । प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत औलख बहादुर आलेले जारी गरेको सुचनामा राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि एउटा मात्रै दर्ता स्टेशन रहेको र एउटा स्टेशनमा दैनिक ४०–४५ वटा मात्रै इनोल्मेन्ट गर्न सकिने उल्लेख छ ।

अर्को स्टेशनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा समेत अनुरोध गरीएको र नयाँ व्यवस्था नभएसम्मका लागि पालिका अनुसार बार तोकिएको प्रशासकिय अधिकृत आलेले बताउनुभयो । इ–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि मानिसहरु मध्यरातदेखि प्रशासन कार्यालयमा लाइन बस्न बाध्य भएका छन् । त्यसलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म प्रशासन कार्यालयले स्थानीय तह अनुसार बार तोकेर सेवा प्रवाह गर्ने भएको हो ।