images
images

परपुरुषसँग प्रेम सम्बन्धमा रहेकी महिलाले यसरी बनाइन् श्रीमानको हत्या योजना

  • ९ चैत्र २०८०, शुक्रबार १०:४२

सिन्धुपाल्चोक । परपुरुषसँग प्रेम सम्बन्धमा रहेकी सिन्धुपाल्चोककी एक महिलाले योजनाबद्ध आफ्नै श्रीमानको हत्या गर्न लगाएको खुलेको छ ।

सिन्धुपाल्चोकको जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङको कास्कीको मादीमा आफ्नै श्रीमती च्याङ्मा तामाङले योजनावद्ध रुपमा हत्या गर्न लगाएको खुलेको हो । उनलाई श्रीमतीले नै मादीमा हाइड्रोपावरमा काम गर्न भनेर फकाएर पठाएको र डोजर, एक्स्काभेटर चलाउने गरेका रामलाल खुसी हुँदै गएका थिए । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो । तर काम गर्न गएका उनी चैत ३ गते मृत फेला परेका थिए । अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनको हत्या गरेर सँगै काम गर्न गएका ३ जना फरार भएका थिए । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम गर्न गएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा लगिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ रहेका छन् । पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो ।