
जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकामा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवास्थित दुईमाने भुजेल टोलमा हरिबहादुर भुजेलको घरमा आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै लाखौँको क्षति भएको हो । आज बिहान करिब १० बजे घरको छेउमा राखिएको भुस डराउनका लागि आगो बालेर बारीमा गएका बेला हावाहुरीले आगो उडाउँदा घर जलेर पुरै नष्ट भएको शैलुङ ४ का वडाध्यक्ष झम्कबहादुर कार्कीले जानकारी दिनुभयो । आगलागीका कारण घर, घरभित्र रहेको ६० हजार नगद, आधा तोला सुन, लत्ता कपडा, अन्न भाडाकुँडा लगायतका सम्पुर्ण सामाग्री जलेर नष्ट हुँदा ८ लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
यद्धपी, आगलागीबाट मानवीय क्षति भने भएको छैन् । उहाँका अनुसार आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आइसकेको छ ।