images
images

मैनापोखरी बजारमा जथाभावी पार्किङ गर्न निषेध

जिरी(दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरी बजारमा जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।

जथाभावी अव्यवस्थित पार्किङ भइरहेको भन्दै तोकिएको स्थानमा मात्रै पार्किङ गर्न स्थानीय सरकारले आव्ह्वान गरेको हो । वैतेश्वर गाउँपालिकाको मुख्य व्यापारीक केन्द्र मैनापोखरी बजारमा चार पाङग्रे साधनहरु जनमुखी साकोसदेखी पश्चिम र जनसचेतन साकोस भन्दा पुर्व तर्फ एक लाइनमा मात्रै पार्किङ गर्न पाइनेछ । दुई पाङग्रे सवारीका साधनहरुको हकमा भने फुटपाथ देखि वाहिरी भागमा पार्किङ गर्र्नुपर्नेछ । मैनापोखरी बजारमा सर्वसाधरणहरुको आवतजावत र व्यापारीक चाप वृद्धि भैरहेको तथा सवारी साधनहरुको अव्यवस्थित पार्किङको कारण फुटपातमा हिड्न र सवारी निर्वाध रुपमा सञ्चालन हुन समस्या भइरहेको तथा दुर्घटनाका घटनाहरु बढि रहेकोले दुर्घटना न्युनीकरण गर्नका लागि बजारमा व्यवस्थित पार्किङ गर्न आग्रह गरिएको बैतेश्वर–५ का वडाध्यक्ष भुवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यही चैत ४ गते बसेको वडा समितिको निर्णय अनुसार सवारी साधनको पार्किङ स्थान तोकिएको हो ।

त्यसैले सोही स्थानमा मात्रै सवारी साधन पार्किङ गर्न/गराउन वडापालिकाले आग्रह गरेको छ । सामान लोड/अनलोडको हकमा विहान ९/१० बजे र बेलुकी ४/५ बजे भन्दा बाहेक साना सवारीका साधनले अनिवार्य ३० मिनेट र ठुलो सवारी साधनको हकमा १ घण्टा भित्र सामान लोडअनलोड गरिसक्नु पर्नेछ ।

साथै सर्वसाधरणहरुलाई आवतजावत गर्दा अनिवार्य फुटपाथ, जेब्राक्रसको प्रयोग गरिदिन पनि वडाले जारी गरेको सुचनामा उल्लेख छ । वडाले तोकेको स्थानभन्दा अन्यत्र पार्किङ गर्ने तथा नियम उल्लेघन गरेमा कानुन वमोजिम कार्वाही हुने चेतावनी समेत दिइएको छ ।