images
images

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा चालकसहित १२ जना घाईते

  • १२ चैत्र २०८०, सोमबार १२:५५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोल थुम्कामा बाँसडोलबाट बनेपा आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् । घाइते हुनेमा बस चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का २५ वर्षीय मिलन सापकोटा, सहचालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ का १९ वर्षीय महेश थापामगर, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ की २२ वर्षीया सविता थापा घाईते भएका छन् । दुर्घटनामा बनेपा–१२ की ३६ वर्षीया अनिता कार्की, ६१ वर्षीया देवकी राउत, ३९ वर्षीया मिनु कार्की, ३९ वर्षीया प्रिया भुजेल, २४ वर्षीया रिता भुजेल, उनकी छोरी ११ महिनाकी बिन्दा भुजेल, ४५ वर्षीया सुशिला भुजेल, ६५ वर्षीय अचुतप्रसाद वाग्ले, भक्तपुरकी २४ वर्षीया रबिना राउत घाईते भएको प्रहरीले जनाएको छ ।

बा २ ख ९४५६ नम्बरको बस आफै अनियन्त्रित भई आज बिहान स्थानीय शिवप्रसाद ज्ञवालीको पक्की घरमा ठक्कर दिँदा उनीहरु घाईते भएका हुन् । बसको ठक्करबाट घरको अगाडिको भागमा समेत क्षति पुगेको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।