images
images

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्षसहित ५ जना भ्रष्टाचार मुद्धामा दोषी ठहर

  • १३ चैत्र २०८०, मंगलवार ०७:५७

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्षसहित ५ जना दोषी ठहर भएका छन् ।

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जना भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा विद्युतीयकरण गर्दा भ्रष्टाचार गरेको भन्दै २७ जनाविरुद्ध मुद्धा चलाएको थियो । तीमध्ये ५ जना दोषी ठहर भएका छन भने २२ जनाले सफाइ पाएका छन् । खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, लेखापाल दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई विशेष अदालतले दोषी ठहर गरेको हो । टेकनारायण कुँवर र तेजनारायण सिंह राईको संयुक्त इजलासले खड्कालाई १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ ।

यस्तै अदालतले राजुप्रसाद र टंक प्रसादलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ जरिवाना तोकेको छ भने दुर्गाबहादुर र नोर्बुलाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ जरिवाना तोकेको छ । समान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई ३ महिना कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ जरिवाना तोकिएको छ ।