images
images

दोलखामा ६० जना नयाँ क्षयरोगी फेला, परीक्षणको दायरामा नआउनु प्रमुख चुनौती

  • १३ चैत्र २०८०, मंगलवार १४:१४

दोलखा । दोलखामा चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६० जना नयाँ क्षयरोगी फेला परेका छन् ।

जिल्लामा चालु आर्थिक बर्ष २०८०/०८१ को माघ मसान्तसम्मको अवधिमा ६० जना नयाँ क्षयरोगी फेला परेका हुन् । चालु वर्ष जिल्लाका बिभिन्न अस्पतालमा भएको परीक्षणबाट ४० जना नयाँ रोगी फेला परेका हुन् भने अन्य २० जना विरामीमा जिल्ला बाहिर गरीएको परीक्षणबाट क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालय दोलखाकी फोकल पर्सन योगिता खनालले ६० जना बिरामीले हाल स्वास्थ्यकर्मिको रोहवरमा औषधी सेवन गरिरहेको बताउनुभयो । उहाँका अनुसार दोलखामा गत बर्ष १ सय २१ जना बिरामीमा क्षयरोग देखिएको थियो । डक्टरको परामर्शमा नियमित औषधी सेवन गरेका उनीहरु सबै निको भएका छन् ।

क्षयरोग एक सरुवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । यो रोगको पहिचान भई नियमित औषधी सेवन गर्ने बिरामी रोगमुक्त हुन्छन् यद्यपि बीचमा औषधी छुटाउनेहरु, नियमित डक्टरको सम्पर्कमा नआउने र औषधीको मात्रा नमिलेकाहरुको मात्र उपचार सम्भव नहुने स्वास्थ्यकर्मिहरुको भनाई छ । समुदायमा हाल पहिचान भएका भन्दा अझै बढी क्षयरोगी हुन सक्ने आँकलन गरिएको छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जिल्लामा क्षयरोगीको संख्या अझ बढी रहेको अनुमान गरिएपनि उनीहरु परीक्षणको दायरामा नआउनु प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो ।

भौगोलिक विकटता, जनचेतनाको अभाव लगायत थुप्रै कारण चुनौतीको रुपमा खडा भएको भन्दै उहाँले गत बर्ष उपचारको दायरमा आएका बिरामीहरु सबै निको भएर घर फर्कनु उपलब्धिमुलक भएको बताउनुभयो ।दोलखामा पशुपति चौलागाईँ स्मृति अस्पतालमा क्षयरोगीको परीक्षणका लागि अत्याधुनिक परीक्षण बिधिको सेवा अर्थात् जेन एक्सपोर्ट मेसिन समेत उपलब्ध रहेको र जिल्लाभर ११ वटा प्रयोगशाला समेत रहेकाले विगतको तुलनामा रोग पत्ता लाग्न धेरै सहज भने भएको उहाँको भनाई छ ।

दुई साता वा सोभन्दा बढी समयसम्म खोकी लागिरहनु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकाहिँ रगत देखापर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा परीक्षण गर्न जानुपर्दछ । क्षयरोगको औषधी स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ । सामान्य अवस्थाका क्षयरोगीले नियमित ६ महिनासम्म औषधी सेवन गर्नुपर्दछ भने जटिल अवस्थाका रोगीले ९ महिना वा सोभन्दा बढी समय पनि औषधी सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।