images
images

तामाकोशी गाउँपालिकामा दुई सातादेखि तालावन्दी, कामकाज ठप्प

  • १३ चैत्र २०८०, मंगलवार १५:१५

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाको कार्यालयमा दुई सातादेखि लागेको ताला नखुल्दा विकास निर्माण र प्रशासनिक काम ठप्प भएको छ ।

गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएका कारण दुई सातादेखि कार्यालय संचालन हुन सकेको छैन । जसका कारण गाउँपालिकामा संचालन हुने विकास निर्माणका योजना तथा प्रशासनिक कामहरु ठप्प भएका छन् । तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेपछि युवा संघर्ष परिचालन समितिका नामवाट गत फागुन २८ गते तालावन्दी गरिएको थियो । गाउँपालिकाको कार्यालयको मुल गेटमा लगाएको ताला प्रहरीले चैत्र ६ गते तोडे पनि त्यसको दुई दिनपछि पुनः तालावन्दी गरिएको छ ।

तालावन्दीका कारण चैत्र २८ गते यता तामाकोशी गाउँपालिकाको कार्यालय एक दिनमात्र खुलेको छ । अख्तियारले मुद्धा चलाएपछि पालिकाको सेवा प्रभावित भएको, लेखाको काम नहुँदा विकासनिर्माणका योजना लगायतको भुक्तानी हुन नसकेको, वडा नम्बर ३ का वडाध्यक्षले दिएको कार्यवाहकको जिम्मेवारीलाई गाउँपालिकाको कार्यालयले अनुमोदन नगरेको लगायतका विषय उठाएर युवा संघर्ष परिचालन समितिको नामवाट तालावन्दी गरिएको थियो । दुई सातादेखि कार्यालयमा तालावन्दी भई कामकाज ठप्प हुँदा पनि समस्या समाधान हुन सकेको छैन । स्थानीय प्रशासनले ताला तोडे पनि पुनः तालावन्दी गरिए पछि समस्या झनै बढेको छ ।

अख्तियारले मुद्धा चलाएका तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद काफ्ले पदवाट निलम्वन भएपछि सो स्थानमा कार्यवाहक वडा अध्यक्ष तोक्ने प्रमुख विवादको बिषय हो । काफ्ले नेपाली कांग्रेसवाट निर्वाचित वडाध्यक्ष हुन् । वडाध्यक्ष काफ्ले बिरुद्ध फागुन २७ गते विशेष अदालतमा मुद्धा चल्नुभन्दा तीन दिन अघिकै मितिमा काफ्लेले नेपाली कांग्रेसवाट निर्वाचित वडा सदस्य प्रचण्डद्धिप कार्कीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको र सोही जिम्मेवारी कायम गराउन कांग्रेसले दवावस्वरुप युवा संघर्ष समितिको नामवाट तालावन्दी गराएको आरोप छ । तामाकोशी गाउँपालिका–३ जफेमा नेपाली कांग्रेसवाट अध्यक्ष तथा वडा सदस्यहरुमा प्रचण्डद्धिप कार्की र बिमला मिजार तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीवाट क्रमशः देवी पोखरेल र लिलामान मोक्तान बिजयी भएका थिए ।

नेकपा एस भने तामाकोशी गाउँपालिकाको वैठक संचालन सम्वन्धी कार्यविधिले वडा अध्यक्ष रिक्त रहेको अवस्थामा जेष्ठ सदस्यले अध्यक्षता गर्ने र कार्यविभाजन नियमावलीमा पनि जेष्ठ सदस्यलाई कार्यवाहक दिनु पर्ने स्पस्ट व्यवस्था भएको भन्दै लिलामानलाई कार्यवाहक वडा अध्यक्ष बनाउनु पर्ने पक्षमा छ । यहि विवादका कारण तामाकोशी गाउँपालिकाको गरिएको तालावन्दी अहिलेसम्म खुल्न सकेको छैन । तालावन्दी लगत्तै काठमाडौं गएका गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी हालै मात्र जिल्ला फर्किएका छन् । अध्यक्ष केसीले समस्या समाधानकालागि जनप्रतिनिधिहरुसँग छलफलमा रहेको र समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्ले भने अझै जिल्ला फर्किएका छैनन् । पालिकाको कार्यालयमा तालावन्दी गरिएका कारण आफु काठमाडौंमा रहेको र समस्याको समाधान भए लगत्तै फर्किने प्रतिक्रिया दिनुभयो । उहाँले तालावन्दीका कारण विकास निर्माणका योजना कार्यान्वयन गर्न र प्रशासनिक काममा समस्या भएको बताउनुभयो । तालावन्दी खुल्नासाथ लेखाको जिम्मेवारी तोकिने र भुक्तानीका कामहरु पनि हुने उहाँको भनाई छ ।