images
images

स्थानीय तह निर्वाचनः यी हुन् दोलखाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

  • १३ चैत्र २०७८, आईतवार ०८:०९

दोलखा । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले देशभर निर्वाचन अधिकृत तोकेको हो । जसअनुसार दोलखामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश कवि प्रसाद न्यौपानेलाई तोकिएको छ । आयोगले दोलखा जिल्ला अदालतका न्यायधीश न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । दोलखाका अन्य ८ वटा स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन अधिकृत खटाएको छ । गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समितिका उपसचिव होम प्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ भने कालिञ्चोक गाउँपालिकामा राष्ट्रिय किताबखाना ललितपुरका उपसचिव विजयराज बढु निर्वाचन अधिकृतका रुपमा आउने भएका छन् ।

यस्तै जिरी नगरपालिकामा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायधीवक्ता नवराज पराजुलीलाई खटाइएको छ भने तामाकोशी गाउँपालिकामा राष्ट्रिय सुचना आयोग काठमाडौंका उपसचिव बाबुराम खनाल आउनेछन् । मेलुङ गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रल्हाद कुमार कार्की आउनेछन् । यसैगरी विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेश्तेदार शिव कुमार पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ भने वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव (कानुन) बसिष्ट कुमार घिमिरे निर्वाचन अधिकृतका रुपमा आउनेछन् ।

निर्वाचन आयोगले शैलुङ गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय दोलखाका जिल्ला न्यायधीवक्ता प्रकाश मरासिनीलाई खटाएको छ । आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो । उनीहरुलाई चैत २९ गतेदेखि लागु हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा खटाइएको हो ।